शिखरको शतकमा चेन्नईविरुद्ध दिल्ली विजयी


काठमाडौं, १ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्स ५ विकेटले विजयी भएको छ ।

सीएसकेले दिएको १ सय ८० रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक बनाए ।

उनले ५८ बलमा १४ चौका र १ छक्कासहित अविजित १०१ रन बनाए । आईपीएलमा शिखरको यो पहिलो शतक हो ।

यसअघि आईपीएलमा उनको उच्च स्कोर ९७ रन थियो । शिखरले आज तीन पटक जीवनदान पाउँदा शतक बनाउन सफल भए ।

त्यस्तै, मार्कस स्टोइनिसले २४, कप्तान श्रेयस अय्यरले २३, आजिक्य रहाणेले ८ र एलेक्स क्यारीले ४ र अक्क्षर पटेलले ५ बलमा नटआउट २१ रनको योगदान दिए ।

बलिङमा सीएसकेका दीपक चाहरले २, साम कुरान, शार्दुल ठाकुर र डिजे ब्रावोले एक/एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले ५८, अम्बाती रायडूले २५ बलमा अविजित ४५, शेन वाट्सनले ३६, रवीद्र जडेजाले १३ बलमा नटआउट ३३ र महेन्द्रसिंह धोनीले ३ रन बनाए ।

बलिङमा एनरिक नोर्टजेले २, तुषार देशपाण्डे र कागिसो रबाडाले एक/एक विकेट लिए । आजको जितसँगै दिल्ली फेरि १४ अंकका सात शीर्ष स्थानमा उक्लिएको छ । उसले नौ म्याचमा २ खेलमा मात्र हारको सामना गरेको छ ।

चेन्नईविरुद्ध पनि सन्दीपले पाएनन् मौका

सीएसकेविरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भए । योसहित सन्दीपले मौका नपाएको यो नवौँ खेल हो ।

सीएसकेविरुद्ध पनि दिल्लीले अघिल्लो खेलकै प्लेइङ सेटलाई मौका दियो । उसले विदेशी कोटाबाट मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई मौका दिएको थियो ।

रबाडाले रचे इतिहास

दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका तीव्र गतिका बलर कागिसो रबाडाले नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले विदेशी खेलाडीको रूपमा दिल्लीका लागि ५० विकेट लिने खेलाडीको उपलब्धि हासिल गरेका हुन् ।

रबाडा र कप्तान अय्यर

रबाडा अब विदेशी खेलाडीको रूपमा दिल्लीका लागि सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् । उनले हालसम्म दिल्लीका लागि ५० विकेट लिएका छन् । आज सीएसकेविरुद्ध एक विकेट लिएसँगै रबाडाले यो उपलब्धि हासिल गरे ।

साथै, उनले आईपीएलमा सर्वाधिक कम बल र कम म्याचमा ५० विकेट लिने खेलाडीकाे पनि कीर्तिमान बनाएका छन् ।

रबाडाले आईपीएलमा सर्वाधिक कम म्याचमा ५० विकेट लिने केकेआरका सुनील नारायणको कीर्तिमान भंग गरेका छन् । नारायणले ३२ म्याचमा ५० विकेट लिएका थिए । अब रबाडाले उनलाई पछि पारेका छन् ।

रबाडाले २७ म्याचमै आईपीएलमा ५० विकेट लिन सफल भएका छन् । यो सूचीमा लसिथ मलिंगा तेस्रो स्थानमा छन् । उनले आईपीएलमा ३३ म्याचमा ५० विकेट लिएका थिए ।

त्यस्तै, रबाडाले सर्वाधिक कम बलमा ५० विकेट लिने मामलामा मलिंगाको कीर्तिमान तोडेका छन् ।

मलिंगाले ७ सय ४९ बलमा ५० विकेट लिएका थिए । रबाडाले भने ६ सय १६ बलमै ५० विकेट लिन सफल भए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close