नेपालमा कोरोना विरुद्धको खोप उत्पादन कति सम्भव? यस्तो भन्छन् स्वास्थ्यविज्ञ


काठमाडौं, १७ भदौ : विश्वका विकसित, अल्पविकसित तथा अविकसित देशहरू यति बेला कोभिड-१९ को भ्याक्सिन (खोप) बनाउने अभियानमा छन् । खोपको अनुसन्धान तेस्रो चरण पूरा गरी अन्तिम तथा चौथो चरणमा प्रवेश गर्दैछ ।

यसै क्रममा विश्वका केही देशले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्ने र खोप उत्पादनमा नेपाललाई सघाउने पनि बताउँदै आएका छन् । खोप विकासको काममा सफलता हात परेमा त्यसको सिड नेपालमा ल्याएर खोप बनाउन सकिन्छ कि सकिँदैन ? भनेर बहससमेत सुरु भइसकेको छ ।

केन्द्रीय रेबिज भ्याक्सिन प्रयोगशाला, त्रिपुरेश्वरले रेबिजको भ्याक्सिन बनाएर नेपालमै सफल प्रयोग गरेको थियो । त्यो समयको नेतृत्व डा. सुर्दशन गौतमले गर्नुभएको थियो । कच्चा पदार्थको उपलब्धता भएमा नेपालमा कोरोनाको खोप बनाउन सकिन्छ ? भनेर उहाँसँग प्रश्न सोध्दा उहाँले तत्कालै नेपालमा कोरानाको भ्याक्सिन बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

भ्याक्सिन एकैपटक तयार पार्न नसकिने भएकाले त्यसमा प्रयोग हुने सिडको उपलब्धता र त्यसको लागि लामो अध्ययन आवश्यक रहेको डा. गौतमले बताउनुभयो ।
‘भ्याक्सिनमा सफलता निश्चित समयमा आउने भन्ने हुँदैन । एचआइभीको भ्याक्सिनको खोजीमा लागेको १५ वर्षभन्दा लामो समय भइसक्यो ।

कोभिड–१९ को समेत भ्याक्सिन पत्ता लागेको छैन । विश्वमा कोभिडको सफलता हात पारे पनि तत्कालै नेपालमै बनाउन सक्ने अवस्था छैन ।’ लामो समय पशु तथा पन्छीहरूको भ्याक्सिनको अन्वेषण प्रयोगमा क्रियाशील रही अहिले निवृत्त जीवन व्यतीत गरिरहनुभएका डा. गौतमले भन्नुभयो ।

एउटा भ्याक्सिन राम्रोसँग बनाउन बर्षाैंसम्म लाग्ने भएकाले नेपालको भौतिक अवस्थाको आधारमा सम्भव नभएको उहाँले बताउनुभयो । नेपालको प्रयोगशालामा कच्चा पदार्थ ल्याएर बनाउने कुरा एकातिर सम्भव नभएको र विकसित देशहरूले नेपालमा ल्याएर भ्याक्सिनको ट्रायल गर्दासमेत त्यसले दीर्घकालीन रुपमा असर गर्नसक्ने उहाँको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. दीपक ज्ञवालीले पनि नेपलमा रुसलगायत देशले कोरोनाविरुद्धको खोप उत्पादनमा सहयोग गर्ने बताए पनि त्यसका लागि प्रारम्भबाटै काम गर्नुपर्ने बताउनुभयो । अहिले यसबारे ठोस अध्ययन नभए पनि देशमा भएका अहिलेको पूर्वाधारबाट भने सम्भव नदेखिएको र त्यसका लागि शून्यबाटै काम थाल्नुपर्ने उहाँले बताउनुभयो ।

अहिलेको अवस्थामा नेपालमा खोप उत्पादन हुनसक्ने अवस्था नरहेको नेपाल औषधि लिमिटेडका पूर्वमहाप्रबन्धक तथा फर्मासिस्ट बाबुराम हुमागार्इंले बताउनुभएको छ । नेपालमै कोरोनाको भ्याक्सिन बनाउनु लामो बाटो हुने भएकाले छोटो बाटो पहिचान गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

भ्याक्सिन उत्पादनमा चार चरण पार गर्नुपर्ने र विश्वमा परीक्षण भइरहेका कोरोनाको भ्याक्सिनले चौथो चरण सुरु गर्न थालेकाले अबको एक बर्षसम्ममा भ्याक्सिन आउनसक्ने उहाँले अनुमान लगाउनुभएको छ । उहाँले नेपालले भ्याक्सिनको परीक्षणमा सहभागिता जनाउँदा समेत तेस्रो चरणसम्मको सुरक्षा तथा भ्याक्सिन सफल भएमा नेपालले उत्पादन गर्ने देशसँगै भ्याक्सिन पाउने ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।

विश्वका विभिन्न मुलुकहरूमा भएका टेस्टहरूको तेस्रो चरणसम्मको सुरक्षाको ग्यारेन्टी नेपालका विज्ञहरूले अध्ययन गरेर सुरक्षित रहेको ग्यारेन्टी भएपछि मात्रै चौथो चरणमा सहभागी हुनु राम्रो हुने उहाँको भनाइ छ । विगतमा जस्तै ट्रायल गर्ने तर त्यसको पाँच वर्षसम्म पनि भ्याक्सिन नपाउने समस्या यो पटक नेपालले दो¥याउन नहुनेमा उहाँको जोड थियो ।

नेपालमा भेडाबाख्रा तथा कुखुराको केही भ्याक्सिन बनाउँदै आएको हेस्टर बायोसाइन्सेस नेपालका डा. क्षितिज पौडेल पशुहरूको भ्याक्सिन बनाउन प्रयोग हुने प्रविधि नै फरक भएकाले कोरोनाको भ्याक्सिनको काम आफ्नो कम्पनीबाट हुन नसक्ने बताउनुभयो । जैविक उत्पादन प्रयोगशाला, बायो क्याट नेपाललगायत कम्पनीहरूले पशु र कुखुराको मात्रै भ्याक्सिन बनाएकाले तिनीहरूसँग समेत कोरोनाको भ्याक्सिन बनाउन सक्ने प्रविधि नभएको बताउनुभयो ।

‘हामीसँग मानिसका लागि आवश्यक भ्याक्सिन बनाउने प्रविधि छैन’ पौडेलले भन्नुभयो । सोही कम्पनीको मदर अर्गनाइजेसन रहेको कम्पनी हेस्टर बायोसाइन्सेस गुजरातले भने यस विषयमा इच्छा देखाएको उहाँले बताउनुभयो ।

केन्द्रीय अन्वेषण प्रयोगशालाका डा. उमेश दाहालले पशु तथा पन्छीहरूको लागि मात्रै भ्याक्सिन तयार हुँदैआएकाले अन्वेषण प्रयोगशालाबाट तत्कालै मानवलाई आवश्यक रहेको भ्याक्सिन तयार पार्न सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले नेपाल सरकारले त्यस्तो भ्याक्सिन तयार पार्ने योजना अघि बढाए आफूहरू सहयोग गर्न तयार रहेको बताउनुभयो । आफूहरूले गरेको काम र कोरोनाविरुद्धको भ्याक्सिन बनाउने कार्य फरक रहेको बताउँदै प्राविधिक परामर्श गर्न सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।

भ्याक्सिन बनाउन अर्थतन्त्रले धान्न सक्ने वा नसक्ने अवस्थाको बहस चलेको समयमा आफूहरूसमेत योगदान दिन चाहे पनि त्यो तत्कालै सम्भव नभएको उहाँले बताउनुभयो ।

‘हामीले पढेको तथा अनुसन्धान गरेको विषय फरक रहेपनि हामीले दिनसक्ने प्राविधिक परामर्श भने दिनेछाैँ’ डा. दाहालले भन्नुभयो । यतिबेला तत्कालै पशुहरूमा समस्या आउँदा उपचारको लागि ल्याब अत्यावश्यक भएको डा. दाहालले बताउनुभयो । गाेरखापत्र अनलाइनबाट साभार

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close